Aug 28, 2026 10:33 AM Asia/Kathmandu
ہمیں فالو کریں:
परासीमा भव्य रूपमा सम्पन्न भयो १५०१औं मोहम्मद जन्मोत्सवको जुलुसे मोहम्मदी

परासीमा भव्य रूपमा सम्पन्न भयो १५०१औं मोहम्मद जन्मोत्सवको जुलुसे मोहम्मदी

26 Aug 2026
1 min read

परासीमा भव्य रूपमा सम्पन्न भयो १५०१औं मोहम्मद जन्मोत्सवको जुलुसे मोहम्मदी

परासी । उलमा फाउन्डेशन नेपालद्वारा पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम को १५०१औं मोहम्मद जन्मोत्सवको अवसरमा सदरमुकाम परासीमा भव्य एवं विशाल जुलुसे मोहम्मदी सफलतापूर्वक सम्पन्न भएको छ। धार्मिक सद्भाव, शान्ति, प्रेम, भाईचारा र मानवताको सन्देश बोकेको उक्त जुलुसमा सयौँ श्रद्धालु, उलेमा, समाजसेवी तथा सर्वसाधारणको उत्साहपूर्ण सहभागिता रहेको थियो। जुलुसको अध्यक्षता उलमा फाउन्डेशन नेपाल, नवलपरासीका निवर्तमान अध्यक्ष हजरत मौलाना सिराज अहमद निजामीले गर्नुभएको थियो भने जिल्ला मदरसा, मस्जिद तथा कब्रिस्तान संरक्षण समितिका अध्यक्ष एवं समाजसेवी अमिरुल्लाह मियाँ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। जुलुसको नेतृत्व उलमा फाउन्डेशन नेपालका केन्द्रीय अध्यक्ष हजरत मौलाना हाजी सैयद गुलाम हुसैन मजहरी ज्युले गर्नुभएको थियो।

एकता, अनुशासन र शान्तिको सन्देशसहित ब्यानर तथा माइकको व्यवस्था गरेर निकालिएको जुलुसे मोहम्मदीले परासी बजार क्षेत्रलाई धार्मिक उत्साह र भाइचाराको वातावरणले भरिदिएको थियो।

सहभागीहरूले पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम को जीवन, शिक्षा, आदर्श, प्रेम, करुणा, शान्ति र मानव सेवाको सन्देशलाई जन–जनसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए। जुलुस जामिया फैजाने अहले बैत परासीका प्रिन्सिपल हजरत मौलाना सैयद सद्दाम हुसैन साहब तथा कारी अहमद रजा साहबको निगरानीमा व्यवस्थित रूपमा सञ्चालन भएको थियो।

कार्यक्रममा मौलाना जैनुल आबेदीन साहब, हजरत मौलाना उमर निजामी साहब, हजरत मौलाना बदरुद्दीन साहब, हजरत मौलाना शहादत हुसैन साहब, हजरत मौलाना अब्दुल गफ्फार साहब, हजरत मौलाना अली हुसैन साहब, निवर्तमान जि स स प्रमुख शिव शंकर प्रसाद राय समाजसेवी कासिद अली, समाजसेवी हाजी इस्हाक मियाँ, समाजिक अभियंता हुसैन अंसारी,वन विभागका अधिकारी अमजद अन्सारी साहब, टेलरिङ व्यवसाय संघका केन्द्रीय सदस्य राजु दीवान साहब लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा सयौँ नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

जुलुसमा सहभागी उलेमा तथा अगुवाहरूले पैगम्बर मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम को सन्देश कुनै एक समुदायका लागि मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्ति, सद्भाव, न्याय, दया र मानवताको मार्गदर्शन भएको बताए। उहाँहरूले धार्मिक सहिष्णुता, सामाजिक एकता, आपसी सद्भाव र राष्ट्रप्रतिको जिम्मेवारीलाई अझ बलियो बनाउन सबै समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

उलमा फाउन्डेशन नेपालले आयोजना गरेको १५०१औं मोहम्मद जन्मोत्सवको जुलुसे मोहम्मदीले परासीमा धार्मिक आस्था मात्र नभई शान्ति, सद्भाव, सामाजिक एकता र भाइचाराको सशक्त सन्देश दिएको सहभागीहरूले बताएका छन्।

कार्यक्रम आयोजकहरूले जुलुसलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण उलेमा, समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी, व्यवसायी, युवा तथा आम नागरिकप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

Abdul Jabbar Alimi

عبدالجبار علیمی نیپالی۔

چیف ایڈیٹر (9701714929) (8795979383)