स्टार्टअप र प्रविधिको क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न सक्छ : पाकिस्तानी राजदूत
पोखरा : नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले युवाहरूको भविष्य स्टार्टअप, प्रविधि र नवप्रवर्तनसँग जोडिएको बताउनुभएको छ। युवाहरूले आफ्ना नयाँ सोच र सिर्जनात्मक विचारलाई व्यावसायिक स्वरूप दिन सके आफ्नै देशमा रोजगारी तथा उद्यमशीलताका प्रशस्त अवसर सिर्जना गर्न सक्ने उहाँको भनाइ छ।
पोखरामा आयोजित स्टार्टअप समिट नेपाल २०२६ लाई सम्बोधन गर्दै राजदूत खानले प्रविधिको विकाससँगै उद्यमशीलता र व्यवसायका नयाँ सम्भावनाहरू विस्तार हुँदै गएको बताउनुभयो। उहाँले युवाहरूलाई सिर्जनशीलता, नवीन सोच र प्रविधिको प्रभावकारी प्रयोगलाई प्राथमिकता दिन आग्रह गर्नुभयो।
पाकिस्तानले पनि स्टार्टअप तथा प्रविधिमा आधारित उद्यमहरूको विकासमा अनुभव हासिल गरेको उल्लेख गर्दै उहाँले नेपाल र पाकिस्तानबीचको सहकार्यले उद्यमशीलताको प्रवर्द्धनमा नयाँ अवसरहरू सिर्जना गर्न सक्ने बताउनुभयो।
उहाँका अनुसार आजको प्रतिस्पर्धात्मक विश्वमा परम्परागत सोचबाट मात्र व्यवसायलाई अगाडि बढाउन सम्भव छैन। युवा उद्यमीहरूले नयाँ प्रविधि र सिर्जनात्मक अवधारणालाई बजारको आवश्यकतासँग जोड्न सके व्यवसायमा ठूलो सम्भावना हासिल गर्न सक्छन्।
राजदूत खानले स्टार्टअप समिट नेपालले युवाहरूलाई उद्यमशीलताप्रति प्रेरित गर्ने र नयाँ व्यावसायिक अवसरहरूको पहिचान गर्ने उद्देश्य राखेको उल्लेख गर्दै पाकिस्तानी दूतावासले पनि यस अभियानसँग सहकार्य गरिरहेको जानकारी दिनुभयो।
नेपाल उर्दू टाइम्स (Nepal Urdu Times
