Sep 24, 2026 04:45 AM Asia/Kathmandu
हामीलाई फलो गर्नुहोस्:
संयुक्त राष्ट्रसंघको ८१औँ महासभा: परराष्ट्रमन्त्री शशीर खनालद्वारा उद्घाटन सत्रमा सहभागिता

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा: परराष्ट्रमन्त्री शशीर खनालद्वारा उद्घाटन सत्रमा सहभागिता

23 Sep 2026
1 min read

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा: परराष्ट्रमन्त्री शशीर खनालद्वारा उद्घाटन सत्रमा सहभागिता, जलवायु न्यायको माग

 अहमद रजा इब्न अब्दुल कादिर ओवैसी 

: नेपाल उर्दू टाइम्स

 काठमाडौं परराष्ट्रमन्त्री शशीर खनालले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनअन्तर्गत उच्चस्तरीय सामान्य बहसको उद्घाटन सत्रमा सहभागिता जनाएका छन्। सन् २०२६ सेप्टेम्बर २२ देखि सुरु भएको यस वर्षको उच्चस्तरीय सामान्य बहसको मुख्य विषय “विश्वास पुनर्स्थापना, परिवर्तनको व्यवस्थापन: सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसंघ” रहेको छ। परराष्ट्रमन्त्री शशीर खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राय तथा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि एवं राजदूत लोकबहादुर थापा पनि उद्घाटन सत्रमा सहभागी भएका थिए।

 नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आगामी सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। न्युयोर्कमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोको विषय उठाएका छन्। उनले विश्व समुदायलाई नेपाललाई प्रदान गरिने आर्थिक सहयोगलाई केवल ‘सहायता’ वा ‘दान’का रूपमा नभई ‘जलवायु क्षतिपूर्ति’का रूपमा हेर्न आग्रह गरेका छन्। विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि जलवायु परिवर्तनका कारण नेपालले गम्भीर असर तथा ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उनले जलवायु न्यायको आवश्यकता औँल्याएका छन्।

 परराष्ट्रमन्त्री शशीर खनालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा विश्व नेताहरूको सम्मानमा आयोजित विशेष रात्रिभोज तथा स्वागत समारोहमा पनि नेपालको प्रतिनिधित्व गरेका छन्। यसै भ्रमणका क्रममा नेपालले ग्रेनाडासँग औपचारिक कूटनीतिक सम्बन्ध समेत स्थापना गरेको छ। यससँगै नेपालसँग औपचारिक कूटनीतिक सम्बन्ध कायम भएका देशहरूको संख्या १८४ पुगेको छ।

Abdul Jabbar Alimi

अब्दुल जब्बार अलीमी निजामी नेपाली

प्रमुख सम्पादक नेपाल उर्दू टाइम्स, मिडिया इन्चार्ज उलेमा काउन्सिल नेपाल